देवानगञ्ज घटनामा ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही अघि बढाइने सहमति भएको छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा पनि आवश्यक छानबिन सुरु गरिने उल्लेख गरिएको छ।

सहमतिमा मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिसलाई कानुनअनुसार कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।
यस्तै, सहमतिअनुसार मृतकहरूको अन्त्येष्टि शुक्रबार दिउँसो २ बजे गर्ने तय गरिएको छ।