शेयर कारोबार आजदेखि नियमित हुने

काठमाडौं । प्राविधिक समस्या समाधान भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि शेयर कारोबार नियमित रूपमा सञ्चालन हुने भएको छ।

नेप्सेका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि असोज ६ गतेदेखि कारोबार पूर्ववत् सञ्चालन गर्न लागिएको हो।

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो। समस्या समाधान नगरी कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको थियो।

यस घटनाबारे नेपाल धितोपत्र बोर्डले नेप्सेलाई अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ। बोर्डले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सुधारका उपायसहित प्रतिवेदन पेश गर्न पनि भनेको छ।

बोर्डले घटनाको निरीक्षणका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय टोलीसमेत खटाएको छ।

कारोबार पुनः सञ्चालन हुने भए पनि डाटा सेन्टरमा समस्या देखिनुको प्राविधिक कारण र यसबाट उत्पन्न हुन सक्ने प्रणालीगत जोखिमबारे थप अध्ययन भइरहेको जनाइएको छ।