धादिङ । हालैको भीषण बाढीका कारण धादिङका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले ठूलो आर्थिक क्षति व्यहोरेपछि धादिङ उद्योग वाणिज्य संघले प्रभावित क्षेत्रको पुनःस्थापना र व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारसँग पाँचबुँदे माग अघि सारेको छ।
संघले बाढीबाट प्रभावित भएर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यवसायीलाई ब्याजमा विशेष छुट दिनुपर्ने माग गरेको छ। साथै ऋणको पुनर्तालिकीकरण तथा पुनर्संरचना गरी व्यवसायीलाई किस्ता तथा भुक्तानीमा सहजीकरण गर्न आग्रह गरिएको छ।
बाढीका कारण लामो समय विद्युत् सेवा नियमित हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै प्रभावित अवधिको न्यूनतम विद्युत् महसुल छुट दिन पनि संघले माग गरेको छ।
त्यस्तै, बाढी तथा पहिरोबाट क्षतिग्रस्त धादिङका मध्य तथा उत्तरी क्षेत्र जोड्ने सडकहरूको तत्काल मर्मत र पुनर्निर्माण गरी यातायात सहज बनाउन संघले सरकारको ध्यानाकर्षण गराएको छ।
पृथ्वी राजमार्गसँग धादिङको मध्य तथा उत्तरी क्षेत्रलाई जोड्ने महत्वपूर्ण बेली पुल तत्काल निर्माण गर्नुपर्ने माग पनि संघले अघि सारेको छ। पुल तथा सडक अवरुद्ध हुँदा व्यापार–व्यवसायमा प्रत्यक्ष असर परेको संघको भनाइ छ।
संघले विपद्पछि प्रभावित क्षेत्रको पुनःस्थापना, पूर्वाधार पुनर्निर्माण र आर्थिक गतिविधि चलायमान बनाउन संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जारी गरेको ध्यानाकर्षण पत्रमार्फत बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै तत्काल राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका कार्यक्रम अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको हो।







