नुवाकोट विदुरका ६५ विद्यालय बुधबारदेखि सञ्चालनमा आउने

नुवाकोट — भोटेकोशी बाढीका कारण करिब दुई सातादेखि बन्द रहेका विदुर नगरपालिकाभित्रका ६५ वटा विद्यालय बुधबारदेखि पुनः सञ्चालनमा आउने भएका छन्।

नगरपालिकाका अनुसार तत्कालका लागि ४३ सामुदायिक र २२ निजी विद्यालय सञ्चालनमा ल्याइनेछ। बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका तथा अस्थायी आवासका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालय भने तत्काल खुल्ने छैनन्।

बाढी प्रभावित विद्यार्थीलाई अध्ययनका लागि आफूलाई सहज हुने नजिकको जुनसुकै विद्यालयमा जान सक्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय पोसाकलगायतका विषयमा पनि प्रभावित विद्यार्थीलाई समस्या नपर्ने गरी विद्यालयले आवश्यक सहजीकरण गर्ने बताइएको छ।

विदुर नगरपालिकामा बाढीअघि ५४ सामुदायिक र २५ निजी गरी ७९ विद्यालय सञ्चालनमा थिए। तीमध्ये केही विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केहीमा अहिले पनि बाढी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालनमा छन्।

नगरपालिकाका अनुसार पूर्ण क्षति भएका तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालयबाहेक बाँकी विद्यालय नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइएको छ।

बाढीका कारण विदुरका केही विद्यालयमा भौतिक क्षति समेत भएको छ। यसबाट विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो। रसुवा, नुवाकोट र धादिङका विभिन्न विद्यालयसमेत बाढीबाट प्रभावित भएका छन्।

पूर्ण रूपमा क्षति भएका तथा हाल होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका विद्यालयमा पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा भने नगरपालिकाले अवस्था हेरेर थप निर्णय गर्ने जनाएको छ।