दक्षिण कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया पुगेका काभ्रेका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ।

काभ्रेको धुलिखेल नगरपालिका–१, देविटार निवासी प्रितम तामाङको गत शनिबार मृत्यु भएको हो। श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्‍याएर फर्किएका उनी दक्षिण कोरियाको आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ।

बिहान अबेरसम्म नउठेपछि साथीहरूले खोजी गर्दा उनी अचेत अवस्थामा भेटिएका थिए। तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले परीक्षणका क्रममा उनको करिब ६ घण्टाअघि नै मृत्यु भइसकेको जानकारी दिएका थिए।

करिब ९ वर्षअघि रोजगारीका लागि दक्षिण कोरिया पुगेका तामाङ हाल ई–७ भिसामा कार्यरत थिए।

विदेशमा रोजगारीका लागि पुगेका नेपालीको असामयिक निधनले परिवार र आफन्तजन शोकमा परेका छन्।