हिमपात र वर्षाले मुस्ताङ प्रभावित, कोरला नाकामा आवागमन बन्द

मुस्ताङ । चक्रवात ‘अर्नब’को प्रभावसँगै मुस्ताङमा मौसमले प्रतिकूल रूप लिएपछि स्थानीय जनजीवन प्रभावित भएको छ। उपल्लो मुस्ताङमा बाक्लो हिउँ परेको छ भने तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। खराब मौसमका कारण नेपाल–चीन जोड्ने कोरला नाकाको आवागमन रोकिएको छ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा निरन्तर हिमपात भइरहेको छ। हिमपातसँगै तापक्रम घट्दा स्थानीय बासिन्दाको दैनिक गतिविधिमा समेत असर परेको छ।

सशस्त्र प्रहरी बलको न्हेचुङस्थित बोर्डर आउट पोस्टका अनुसार कोरला नाका र आसपासका क्षेत्रमा करिब दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ। सडकमा हिउँ थुप्रिएर यात्रा जोखिमपूर्ण बनेपछि नाकातर्फ जाने सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको हो।

सुरक्षालाई ध्यानमा राख्दै न्हेचुङबाट कोरला जाने र जोमसोम फर्कने क्रममा रहेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत यात्रा नगर्न आग्रह गरिएको छ। मौसम अनुकूल नहुँदासम्म सीमापार व्यापारिक गतिविधि र सामान ओसारपसार स्थगित गर्न पनि अनुरोध गरिएको छ।

यसैबीच, मुस्ताङको तल्लो क्षेत्रमा भइरहेको वर्षाले सडक यातायातमा समेत समस्या निम्त्याएको छ। घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिल्लो सडक क्षेत्रमा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिमपातका कारण उपल्लो मुस्ताङका बस्ती, चरन क्षेत्र र उच्च भूभाग हिउँले ढाकिएका छन्। प्रतिकूल मौसम अझै कायम रहेकाले पर्यटक, स्थानीय बासिन्दा तथा मालसामान ढुवानीमा संलग्न चालकलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

#HorizonKhabar #Mustang #WeatherUpdate