काठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले आम नागरिकलाई रक्तदान गर्न विशेष आह्वान गरेको छ।
बडादसैँको बिदापछि रक्तदान कार्यक्रमहरू कम हुनु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै जानुले रगत व्यवस्थापनमा समस्या भएको रेडक्रसले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको छ। यसले गर्दा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ भइरहेको छ।
रेडक्रसले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आग्रह गरेको छ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुँदा रक्तदान कार्यक्रम घटेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले देशका ७३ जिल्लामा १२० स्थानबाट रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा प्रदान गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिएका छन्।
**रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारीका लागि सम्पर्क:**
– केन्द्रीय रक्तसञ्चार सेवा: ०१-५३८८४८५, ०१-५३८८४८६
– नेपाल रेडक्रस सोसाइटीको निःशुल्क हटलाइन: **११३०**
रक्तसञ्चारसम्बन्धी थप जानकारीका लागि मोबाइलको प्ले स्टोरबाट **NRCS BTS** एप डाउनलोड गरेर पनि जानकारी लिन सकिने रेडक्रसले जनाएको छ।
रगतको अभावका कारण बिरामीको उपचारमा समस्या हुन नदिन स्वस्थ र योग्य नागरिकले स्वेच्छिक रक्तदान गरी जीवन बचाउने अभियानमा सहयोग गर्न आवश्यक छ।






