अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि प्रदान गरिने

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ।

रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ कार्यक्रममा अभिनेत्री सिंहलाई उक्त उपाधि प्रदान गर्न लागेको हो।

नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि सक्रिय सिंहले अभिनयमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाउन सफल भएकी छन्। सन् १९९३ मा तुलसी घिमिरे निर्देशित चलचित्र ‘दक्षिणा’ बाट अभिनय यात्रा सुरु गरेकी उनले ‘दर्पणछाया’, ‘आफ्नो मान्छे’, ‘मितज्यू’, ‘ठूल्दाइ’, ‘दाल भात तरकारी’ लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरेकी छन्।

अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक ‘वंश’ को शीर्षगीतमा स्वर दिएकी छन्। उनले ‘दीपशिखा’ नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।

नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गर्न लागिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिएका छन्।

यसअघि अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई पनि मानार्थ ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधिबाट सम्मानित गरिसकिएको छ।