काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास भएपछि प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको प्रहरीको धरपकडप्रति ध्यानाकर्षण भएको जनाएको हो।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु गम्भीर विषय हो। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यस्तो गतिविधि हुनु थप चिन्ताजनक रहेको काउन्सिलको भनाइ छ।
समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउ गर्नुको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तत्काल रिहा गर्नसमेत आग्रह गरेको छ।
त्यस्तै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि काउन्सिलले अनुरोध गरेको छ।
प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनमा आफू प्रतिबद्ध रहेको काउन्सिलले जनाएको छ।
#HorizonKhabar @highlight






