आज विजया दशमी : टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

धादिङ । नेपालीहरूको महान् पर्व बडादशैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। त्यस्तै, देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।

धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्नेछ।

यस वर्ष अष्टमी दुई दिन परेकाले घटस्थापनाको ११औँ दिनमा विजया दशमी परेको हो। कतिपय स्थानमा आज मात्रै टीका लगाउने चलन छ भने धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏