काठमाडौं । तिहारपछिको पहिलो कारोबारमा नेपाली सेयर बजारमा गिरावट देखिएको छ। शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८ अंकमा कायम भएको छ।
यस दिन कारोबार भएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको मूल्य घटेको छ। त्यस्तै ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
शुक्रबार कुल कारोबार रकम पनि घटेर ३ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ। यसअघि अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
कारोबार भएका अधिकांश समूहका सूचक ओरालो लागेका छन्। बैंकिङ समूह ०.२३ प्रतिशत, फाइनान्स ०.४७ प्रतिशत, जीवन बीमा ०.६७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७९ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.४३ प्रतिशतले घटेका छन्।
यता निर्जीवन बीमा, होटल तथा पर्यटन, जलविद्युत् र विकास बैंक समूहमा भने सामान्य वृद्धि देखिएको छ।
कम्पनीगत रूपमा स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ। सामलिङ पावरको ५.८७ र एसियन हाइड्रोपावरको ५.२६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ। घोराही सिमेन्टको ७.८७ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट, सानिमा माई हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक अगाडि रहेका छन्।
तिहारपछि खुलेको सेयर बजारमा परिसूचकसँगै कारोबार रकमसमेत घट्दा लगानीकर्ताको गतिविधि केही सुस्त देखिएको छ।






