खाडी मुलुकहरू इरानसँगको अमेरिकी युद्ध थप चर्काउन चाहँदैनन्

अन्तर्राष्ट्रिय खबर । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतलगायत खाडी क्षेत्रका देशहरूले अमेरिका र इरानबीचको युद्ध थप चर्काउन नहुने धारणा राखेका छन् । ती देशहरूको आग्रहपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् ।

ट्रम्पले सोमबार रोयटर्ससँगको अन्तर्वार्ता तथा ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालका लागि इरानमाथि नयाँ सैन्य कारबाही नगर्ने बताएका हुन् । यद्यपि, इरानका बन्दरगाह र समुद्री गतिविधिलाई लक्षित गर्दै स्ट्रेट अफ होर्मुज क्षेत्रमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारेका छन् ।

ट्रम्पका अनुसार कतार, साउदी अरेबिया, यूएई, बहराइन र कुवेतले युद्ध थप विस्तार नहोस् भन्ने चाहेका छन् । छिमेकी मुलुकहरूको आग्रहलाई ध्यानमा राख्दै आफूले तत्काल नयाँ आक्रमण नगर्ने निर्णय गरेको उनको भनाइ छ ।

यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक पहलसमेत भइरहेको छ । कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । कतारले युद्ध सुरु भएदेखि नै अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ ।

युद्ध अन्त्य गर्ने प्रस्तावमा सहमति जुट्न कठिन

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य कारबाही सुरु गरेपछि दुई पक्षबीच तनाव बढ्दै आएको छ । युद्ध अन्त्यका लागि विभिन्न कूटनीतिक प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

इरानले युद्ध अन्त्य गर्न अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, आर्थिक प्रतिबन्ध खुकुलो पार्नुपर्ने र बमबारी रोक्नुपर्ने सर्त अघि सारेको छ । त्यसको बदलामा स्ट्रेट अफ होर्मुजमा लगाइएको आफ्नै नाकाबन्दी हटाउने र आणविक कार्यक्रमलगायत विषयमा थप वार्ता गर्ने प्रस्ताव इरानको छ ।

तर, अमेरिकाले इरानका सर्तहरू स्वीकार गर्न नसकिने बताउँदै आएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्तावलाई अव्यावहारिक र अस्वीकार्य भनेका छन् ।

कूटनीतिक प्रयाससँगै सैन्य तनाव पनि कायमै

युद्ध रोक्न वार्ता भइरहे पनि क्षेत्रीय सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको छैन । इरानी सञ्चारमाध्यमका अनुसार आइतबार राति अमेरिकाले इरानको केश्म टापुमा आक्रमण गरेको थियो । उक्त आक्रमणबाट महत्वपूर्ण पूर्वाधार तथा सार्वजनिक सेवामा ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अर्कोतर्फ, स्ट्रेट अफ होर्मुज र खाडी क्षेत्रमा तेल बोकेका ट्यांकरमाथि आक्रमण तथा समुद्री तनाव जारी रहेको जनाइएको छ । इरानी सरकारी टेलिभिजनका अनुसार पछिल्लो १० दिनमा ११ वटा ट्यांकर सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले पनि युद्ध थप चर्किन नदिन अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन् । उनले संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

युद्ध लम्बिँदै जाँदा खाडी क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय समुद्री व्यापार र विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।

#HorizonKhabar #InternationalNews #Iran #USA #MiddleEast