काठमाडौं । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय दिवसका रूपमा समेत मनाउँदै आएको छ।
संविधान दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना हुँदैछ। उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ।
देशका विभिन्न प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवसका अवसरमा छुट्टाछुट्टै कार्यक्रम हुँदैछन्। राजनीतिक दल, सरकारी निकाय, संघसंस्था तथा नागरिकस्तरबाट समेत विविध कार्यक्रम आयोजना गरिएको छ।
दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणमा जोड दिएका छन्।






