त्रिशूली–३ ‘ए’को सुरुङ खोल्ने काम तीव्र, ८२ सुरक्षाकर्मी परिचालन

रसुवा । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई तीव्र पारिएको छ।

लेदो तथा भग्नावशेष हटाउँदै सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। उद्धार तथा खोजीका लागि नेपाली सेनाका ६२ जना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। यसैबीच, उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले चिलिमे र लाङटाङ क्षेत्रमा हेलिकप्टरमार्फत प्रारम्भिक अनुगमन गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।