काठमाडौं । रुससँग सम्बन्धित एउटा समूहले च्याटजीपीटी प्रयोग गरेर विभिन्न भाषामा दुष्प्रचार सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत फैलाएको पाइएको छ।
ओपनएआईको सुरक्षा अनुसन्धानअनुसार उक्त समूहले आफ्नो पहिचान लुकाउन भीपीएन प्रयोग गर्दै च्याटजीपीटीका विभिन्न एकाउन्टमार्फत अंग्रेजी, जर्मन र फ्रेन्च भाषामा प्रचार सामग्री उत्पादन गरेको थियो।
अनुसन्धानकर्ताका अनुसार समूहले ‘इन्टरनेसनल बर्क इन्स्टिच्युट’ (आईबीआई) नामको आफूलाई इजरायलमा आधारित बताउने कथित थिंक ट्यांकलाई विश्वसनीय संस्था जस्तो देखाउने प्रयास गरेको थियो। आईबीआईको वेबसाइटमा संयुक्त राष्ट्रसंघ, युनिसेफ तथा चर्चित व्यक्तिहरूसँग साझेदारी र आबद्धता रहेको दाबी गरिए पनि त्यस्ता दाबी पुष्टि हुने प्रमाण भेटिएनन्।
सन् २०२५ मा तयार गरिएको आईबीआईको वेबसाइटमा प्रकाशित केही सामग्री अन्य स्रोतबाट हुबहु नक्कल गरिएको अनुसन्धानले देखाएको छ। वेबसाइटमा विशेषज्ञका रूपमा प्रस्तुत गरिएका व्यक्तिहरूले आईबीआईका लागि काम गरेको प्रमाणसमेत फेला नपरेको बताइएको छ।
युनिसेफले पनि आईबीआई आफ्नो स्वीकृत साझेदार नभएको र दुवै संस्थाबीच संयुक्त काम भएको कुनै अभिलेख नरहेको जनाएको छ।
रुसको पक्षमा प्रचार
आईबीआईका सामग्रीमा पश्चिमी युरोपलाई कमजोर तथा पतनतर्फ गएको देखाउँदै रुसलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिएको अनुसन्धानमा उल्लेख छ।
आईबीआईले सार्वजनिक गरेको ‘सार्वभौमिकता सूचकांक’मा रुसलाई चौथो स्थानमा राखिएको थियो भने फ्रान्सलाई १९औँ र जर्मनीलाई २१औँ स्थानमा राखिएको थियो। यसको पद्धति रुसप्रति अत्यन्त अनुकूल र पश्चिमी युरोपप्रति नकारात्मक रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
आईबीआईका विभिन्न सामग्रीमा पश्चिमी युरोपले आफ्नो सार्वभौमिकता बैंक तथा वित्तीय संस्थालाई सुम्पिएको जस्ता दाबी गरिएको थियो। यस्ता तर्कहरू रुसी प्रचार अभियानमा लामो समयदेखि प्रयोग हुँदै आएको बताइएको छ।
फ्रान्स र युक्रेन निशानामा
फ्रान्सलाई लक्षित गर्दै आईबीआईसँग सम्बन्धित YouTube र TikTok खाताबाट दर्जनौँ भिडियो सार्वजनिक गरिएको थियो। तीमध्ये धेरै भिडियो कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर बनाइएको अनुसन्धानमा उल्लेख छ।
भिडियोको उत्पादन गुणस्तर कमजोर हुनुका साथै अनुवादमा समेत त्रुटि देखिएको थियो। धेरै भिडियोले खासै दर्शक नपाए पनि केहीले दशौँ हजारसम्म भ्यु पाएका थिए। तर भ्युको तुलनामा लाइक, सेयर र प्रतिक्रियाको संख्या निकै कम रहेकाले केही भिडियोमा पैसा तिरेर विज्ञापनमार्फत दर्शक पुर्याइएको हुनसक्ने आशंका गरिएको छ।
ओपनएआईको इन्टेलिजेन्स एन्ड इन्भेस्टिगेसन्स टोलीका प्रमुख अनुसन्धानकर्ता बेन निमोले अभियानमा अत्याधुनिक रणनीति र कमजोर कार्यान्वयन दुवै देखिएको बताएका छन्।
उनका अनुसार प्रचार अभियानलाई विश्वसनीय बनाउन शैक्षिकजस्तो देखिने सूचकांक, विभिन्न भाषाका टेलिग्राम च्यानल तथा थिंक ट्यांकको आवरण प्रयोग गरिएको थियो। तर भाषिक त्रुटि, चोरी गरिएका सामग्री र अविश्वसनीय विशेषज्ञको सूचीका कारण अभियानको वास्तविकता पत्ता लगाउन सहयोग पुगेको थियो।
आईबीआईको वास्तविक संरचनामाथि पनि प्रश्न
अनुसन्धानमा आईबीआई पूर्ण रूपमा काल्पनिक संस्था मात्र नभई इजरायलमा केही वास्तविक संरचना रहेको संकेतसमेत भेटिएको छ। संस्थाले आफू इजरायलमा आधारित रहेको दाबी गर्दै समर्थकलाई त्यहाँको बैंक खातामा रकम पठाउन आग्रह गरेको बताइएको छ।
आईबीआईसँग सम्बन्धित केही व्यक्ति इजरायलमा बस्ने र उनीहरूको पृष्ठभूमि रुसमा जन्मिएको वा हुर्किएको देखिएको अनुसन्धानमा उल्लेख छ।
आईबीआईसँग सम्बन्धित केही व्यक्तिले रुसी भाषी इजरायलीलाई सहयोग गर्ने ‘डोर मोरियाह’ नामक परोपकारी संस्थाका कार्यक्रममा समेत सहभागिता जनाएको पाइएको छ। डोर मोरियाह इजरायलमा विधिवत् दर्ता भएको संस्था भए पनि आईबीआई त्यसरी दर्ता भएको देखिएको छैन।
युक्रेनविरुद्ध पनि प्रचार
अनुसन्धानअनुसार आईबीआईले पछिल्लो समय युक्रेनलाई प्रत्यक्ष निशाना बनाउन थालेको थियो। जुन महिनामा प्रकाशित एउटा लेखमा युद्ध सुरु भएयता युक्रेन अन्तर्राष्ट्रिय ठगीका लागि सुरक्षित स्थान बनेको दाबी गरिएको थियो।
युक्रेनमा ठगीसम्बन्धी गतिविधि र कल सेन्टर सञ्चालन भएका घटना वास्तविक भए पनि पछिल्ला वर्षमा त्यहाँको अवस्था सुधारिएको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि पक्राउ बढेको तथ्य आईबीआईको सामग्रीमा उल्लेख नगरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
ओपनएआईका अनुसार ChatGPT को प्रयोगसम्बन्धी गतिविधि पहिचान गर्न सकिएकै कारण सुरक्षा अनुसन्धानकर्ताहरूले यस अभियानको थप विस्तृत स्वरूप पत्ता लगाउन सकेका थिए। त्यसपछि सम्बन्धित एकाउन्टहरू बन्द गरिएको बताइएको छ।
यस घटनाले कृत्रिम बुद्धिमत्तालाई दुष्प्रचार, नक्कली संस्था निर्माण र बहुभाषिक प्रचार अभियानमा प्रयोग गर्न सकिने जोखिम बढ्दै गएको देखाएको छ।






