काठमाडौँ । साउदी अरबमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ। घटनामा ज्यान गुमाएका नेपालीको पहिचान भने सार्वजनिक गरिएको छैन।
परराष्ट्र मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
मन्त्रालयले कुनै पनि बहानामा सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने भन्दै विवाद र द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन तथा शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा आक्रमण भएको थियो। उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूह संलग्न रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो।






