सुनसरी । सुनसरी जिल्लाको देवानगञ्ज क्षेत्रमा चार दिनदेखि तनावग्रस्त बनेको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। आइतबार राति दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव बुधबारदेखि कम हुँदै गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पछिल्लो समय केही स्थानमा सामान्य प्रदर्शनबाहेक कुनै ठूलो अप्रिय घटना भएको छैन। सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न पक्षबीच समन्वय र संवादलाई निरन्तरता दिइएको छ।
यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाका १० स्थानीय तहमा जारी कर्फ्यु आदेश भने यथावत राखिएको छ। इनरुवा र दुबही नगरपालिकासहित भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकामा कर्फ्यु लागू छ। साथै रामधुनी नगरपालिका–१ र ५ तथा इटहरी उपमहानगरपालिका–१६ र १७ मा महेन्द्र राजमार्गको दायाँबायाँ २०० मिटर क्षेत्रभित्र भेला, जुलुस तथा प्रदर्शनमा निषेध कायम छ।
प्रशासनले अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा सुरक्षित वातावरण सुनिश्चित नभएसम्म कर्फ्यु हटाउने निर्णय नभएको जनाएको छ।
यसबीच शान्ति तथा सामाजिक सद्भाव कायम गर्न विभिन्न राजनीतिक दल र सरोकारवालाबीच छलफल तथा पहल जारी रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि सुरक्षा निकायका प्रमुखहरूसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
उता पर्साको वीरगञ्जमा बुधबार राति देखिएको तनावसमेत अहिले साम्य भएको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनका अनुसार हाल दुवै जिल्लाको सुरक्षा अवस्था नियन्त्रणमा रहेको छ।






