बागमतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार बागमती, गण्डकी, कोशी तथा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
दिउँसो गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि धेरै भारी वर्षा हुने सम्भावना छ।

हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै मधेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालका तराई क्षेत्र नजिक उत्तरतर्फ अवस्थित रहेकाले वर्षाको प्रभाव बढेको मौसमविद्हरूले बताएका छन्। विभागले नदी–खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।