पोखरा । नेपाली मुक्तक साहित्यको प्रवर्द्धन र विकासका लागि क्रियाशील मुक्तक मञ्च कास्की शाखाको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।
अधिवेशनबाट दामोदर सञ्जेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा माधव सुवेदी, सचिव अञ्जना वाग्ले, कोषाध्यक्ष समिर पौडेल, सह–सचिव सिचु सिरु मगर चयन भएका छन्। सदस्यमा पुजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी र दुर्गा पोखरेल रहेका छन्।
कार्यक्रममा पोखरा र आसपास क्षेत्रका मुक्तककर्मी र साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा प्राज्ञ बिम्ब कवि रमेश श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूले साहित्यको प्रवर्द्धनमा मञ्चको भूमिकाको प्रशंसा गर्दै नव निर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै भावी योजना र साहित्यिक गतिविधिबारे सुझाव तथा छलफल भएको थियो।
साहित्यिक प्रस्तुतिहरू, मुक्तक वाचन र अनुभव आदान–प्रदानले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। नयाँ कार्यसमितिले कास्कीमा मुक्तक साहित्यको व्यापकता र नयाँ स्रष्टालाई उत्प्रेरणा दिने प्रतिबद्धता जनाएको छ।




























