मुक्तक उन्नयनमा योगदानका लागि रामजीप्रसाद आचार्य पोखरामा सम्मानित

पोखरा । मुक्तक विधाको उन्नयन र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मुक्तक मञ्च केन्द्रीय समितिले साहित्यकार रामजीप्रसाद आचार्यलाई सम्मान गरेको छ। शनिबार पोखरामा आयोजित मुक्तक उत्सव कार्यक्रममा उनलाई विशेष सम्मान अर्पण गरिएको हो।

आचार्यले मुक्तक लेखन र यसको विकासमा दीर्घकालीन योगदान दिएका छन्। उनले वि.सं. २०७० मा ‘खबरदार’ मुक्तक सङ्ग्रह प्रकाशन गरेका थिए। मुक्तकलाई औपचारिक अध्ययनको दायरामा ल्याउने उद्देश्यसहित विद्यालयदेखि विश्वविद्यालय तहसम्म पाठ्यक्रममा समावेश गराउन उनले अभियानसमेत सञ्चालन गरेका थिए।

उनकै नेतृत्वमा ‘पाठ्यक्रममा मुक्तक समावेश’ अभियान अघि बढाइएको थियो। साथै, पोखरा–६ लेकसाइडमा मुक्तकसम्बन्धी पुस्तकालय स्थापना गरी साहित्यिक गतिविधिलाई संस्थागत गर्ने प्रयास पनि गरिएको छ।
मुक्तक मञ्चलाई केन्द्रीय संरचनामा रूपान्तरण गर्दै आचार्यले देश तथा विदेशमा रहेका मुक्तककारलाई एउटै मञ्चमा जोड्ने पहल गरेका थिए। यसक्रममा ७७ जिल्लासहित विदेशमा समेत शाखा विस्तार गरिएको मञ्चले जनाएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल प्रमुख अतिथि तथा साहित्यकार सरुभक्त विशिष्ट अतिथिका रूपमा सहभागी थिए। उनीहरूले आचार्यको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै यस्ता सम्मानले स्रष्टालाई थप उत्साह प्रदान गर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा १९ जना मुक्तककारले वाचन गरेका थिए। नियमित वाचकतर्फ तेजबहादुर गुरुङ सम्मानित भएका थिए भने उत्कृष्ट शाखा सम्मान मुक्तक मञ्च मकवानपुर शाखालाई प्रदान गरिएको थियो।

अम्बिका दाहाल भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अम्बिका ओझाले राखेकी थिइन् भने सञ्चालन रामजी पौडेलले गरेका थिए।ज