काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै मिडिया चर्चा कमाएकी जाजरकोटकी रोशनी शाहीले आत्महत्या गरेकी छिन्।
आइतबार भक्तपुरको सूर्यविनायक–२ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा डेरा गरी बस्दै आएकी रोशनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। दिउँसो १२ बजेदेखि कोठाबाट कुनै आवाज नआएपछि घरधनीले झ्यालबाट हेर्दा उनी भुइँमा लडेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
उनका पति चित्रजंग शाहीले प्रहरीलाई दिएको बयान अनुसार, रोशनीले अत्यधिक औषधि सेवन गरी ज्यान दिएकी हुन्। विगतमा पनि उनले पटक–पटक आत्महत्याको प्रयास गर्दै आएकी थिइन्।
उनी एक मात्र छोराकी आमा थिइन्। आत्महत्या गर्नुअघि उनले दुई पन्ना लामो सुसाइड नोट लेखेकी छिन्। नोटमा उनले आफू छोराको लागि केही गर्न नसकेको उल्लेख गर्दै ‘खुसी भएर बाँच्नू’ भनी लेखेकी थिइन्।
उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ।
प्रहरीका अनुसार मानसिक स्वास्थ्यमा समस्या रहेका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।