एसईई २०८२ को रजिस्ट्रेसन फाराम भर्ने म्याद थप: असार ८ सम्म

काठमाडौँ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम बुझाउने समयसीमा थप गरिएको छ।

यसअघि परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो। तर, विद्यालय, विद्यार्थी र अभिभावकहरूको आग्रहका कारण म्याद थप गरिएको हो।

नयाँ समय अनुसार विद्यालयहरूले विद्यार्थीबाट फाराम संकलन गरी तोकिएको शुल्कसहितको भौचर लिएर असार ८ गते, आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नु पर्नेछ।

यद्यपि, रजिस्ट्रेसन फाराम सम्बन्धी अन्य कार्यतालिका भने पहिलेको सूचनाअनुसार यथावत् रहने परीक्षा कार्यालयले जनाएको छ।