काठमाडौँ । नेकपा एमालेले आफ्ना भ्रातृ संगठन अनेरास्ववियुमा सदस्यता र भूमिका निर्वाह गर्ने उमेरको हद ३२ वर्ष कायम गर्ने निर्णय गरेको छ।
यो निर्णय आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा भएको हो। एमाले सचिव पद्मा अर्यालले चाँडै नै यो निर्णयको आधिकारिक सर्कुलर जारी गरिने जानकारी दिएकी छिन्।
उनका अनुसार, अन्य राजनीतिक पार्टीहरूले विद्यार्थी संगठनमा उमेर हद तोकेको अवस्थामा एमालेले पनि समान रूपले ३२ वर्षे सीमा लागु गर्ने निर्णय गरेको हो।
यसअघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले पनि ३२ वर्षे उमेर हद तोकेका थिए भने एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षको हद राखेको छ।
अनेरास्ववियुको महाधिवेशन यस वर्ष जेठ २५ देखि २७ गते काठमाडौँमा हुँदैछ।