पोखराको ठुलढुङ्गामा अद्भुत शक्ति भएकी बालादेवीको विशेष पूजा हुँदै

पोखरा । पोखरा महानगरपालिका–३३ ठुलढुङ्गामा अवस्थित प्राचीन शक्तिपीठ बालादेवीको वार्षिक विशेष पूजा यही वैशाख २९ गते सोमबारका दिन हुँदैछ। दुई सय वर्ष पुरानो किंवदन्ती बोकेको यो स्थलमा प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाका दिन विशेष पूजा, भजनकीर्तन र धार्मिक कार्यक्रम गरिँदै आएको छ।

स्थानीय बासिन्दाका अनुसार, देवी बालादेवीले जुनसुकै मनोकांक्षा पूरा गरिदिने विश्वास छ। भिसा, विवाह, स्वास्थ्य, परीक्षा लगायत विभिन्न कामनासहित श्रद्धालुहरू यहाँ पुग्ने गर्दछन्।

विशेष पूजाको दिन बिहानदेखि पूजाआजा, दर्शन तथा आरती हुनेछ भने बेलुकी भजनकीर्तन समेत आयोजना गरिने जनाइएको छ। हाल भक्तजनको आगमन बढिरहेको र मंदिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिनुपर्ने स्थानीयको भनाइ छ।