प्रेस सेन्टर नेपाल धादिङले पेशागत सुरक्षाको माग गर्दै ११ बुँदे ध्यानाकर्षण पत्र बुझायो

धादिङ । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति धादिङले पत्रकारहरूको पेशागत सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

देशभर एकैदिन आयोजना गरिएको कार्यक्रमअन्तर्गत ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत, प्रदेशमा प्रदेश सरकारलाई र केन्द्रमा केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउने अभियान सञ्चालन गरिएको हो।

ध्यानाकर्षण पत्रमा पत्रकार हत्या, आक्रमण, सञ्चार गृहमा तोडफोड, तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका दबाब तथा असुरक्षाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै निर्माणाधीन सञ्चारसम्बन्धी कानुनमा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रावधान रहेको भन्दै खारेजीको माग गरिएको छ।

देशभर सञ्चारकर्मीमाथि बढ्दो जोखिम र असुरक्षाप्रति प्रेस सेन्टर नेपाल गम्भीर रहेको जनाउँदै, हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनमा सञ्चार क्षेत्रको समग्र अवस्थाबारे छलफल गरिएको र त्यसको निष्कर्षस्वरूप काठमाडौं घोषणा–पत्र जारी गरिसकेको पनि स्मरण गराइएको छ।

ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले पत्रकारहरूको हक हितका विषयमा गृह मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराइने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण सिलवाल, बद्री अधिकारी, जिल्ला अध्यक्ष निर बहादुर तामाङ, उपाध्यक्ष सन्दीप स्याम्चेन, कोषाध्यक्ष गजेन्द्र गुरुङ सहित सञ्चारकर्मीहरूको उपस्थिति थियो।