सेमजोङमा प्रहरी चौकी भवन उद्घाटन

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–३ सेमजोङमा प्रहरी चौकी भवन सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामीछाने र बागमती प्रदेश प्रहरी नायव महानीरिक्षक कृष्णहरी शर्माले संयुक्त रूपमा भवनको उद्घाटन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, ११ वर्षअघि स्थापना गरिएको प्रहरी चौकीको नयाँ भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो। दुई चरणमा सम्पन्न भवन निर्माणका लागि १ करोड ६४ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ।

नयाँ भवनमा कार्यालय प्रमुखका लागि छुट्टै कोठा, महिला तथा पुरुष हिरासत कक्ष, गार्ड रुम, ब्यारेक, र मनोरञ्जन कक्षको व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख जिल्ला अधिकारीका निमित्त मोहन न्यौपाने, जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाही, वडा अध्यक्ष सुरेश तामाङ लगायतको उपस्थिति रहेको थियो।