१५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप नुवाकोटको किस्पाङले जित्यो

धादिङ । धादिङको नेत्रावती डवजोङ – ३, वाकामा सम्पन्न १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि किस्पाङ युवा क्लबले जितेको छ।

बैशाख १ गते भएको फाइनल खेलमा किस्पाङले चौतारा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि उचालेको हो।

खेलको समापन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथि रूपमा सहभागी भएका थिए।

प्रतियोगितामा विजेता बनेको किस्पाङ क्लबलाई २ लाख २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने उपविजेता चौतारा क्लबले १ लाख १ हजार प्राप्त गरेको छ।

त्यसैगरी, उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोल गर्ने खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। सेमिफाइनलमा पुगेका डुप्चे र कटुन्जे क्लबलाई जनही २० हजार रुपैयाँ पुरस्कार दिइएको आयोजकले जनाएको छ।