शिक्षक आन्दोलनको समीक्षा गर्न महासंघको बैठक भोलि

काठमाडौं, वैशाख ३, २०८२ – संसद्को वर्षे अधिवेशन सुरु हुने भएपछि शिक्षक महासंघले भोलि (बिहीबार) बिहान बैठक डाकेको छ।

सरकारले मंगलबार राति संसद बैठक आह्वान गर्दै शिक्षकहरूको माग सम्बोधन गर्ने गरी शिक्षा विधेयक पेस गर्ने तयारी गरेको सूचना सार्वजनिक भएपछि महासंघले बैठकको तयारी गरेको हो।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, भोलिको बैठकमा आन्दोलनको समिक्षा गर्दै अगाडि के गर्ने भन्नेबारे निर्णय लिइनेछ। “सरकारसँग हाल प्रत्यक्ष संवाद छैन, तर संवादका लागि सरकारको प्रस्ताव आएको छ,” पराजुलीले भनिन्, “हामी आन्तरिक छलफलमा छौं।”

शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडानमा महासंघ कायम छ। चैत २० गतेदेखि सुरु भएको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ। शिक्षकहरू पेशागत सुरक्षा, स्थायित्व र अधिकार सुनिश्चित हुनुपर्ने मागसहित निरन्तर आन्दोलनरत छन्।