लन्डन । बेलायतमा पछिल्ला हप्ताहरूमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेखनीय वृद्धि देखिएको छ। सार्वजनिक स्वास्थ्य निकायका अनुसार, अप्रिलको पहिलो साता कोभिड पोजिटिभ दर ४.५ प्रतिशत पुगेको छ, जुन सन् २०२५ को सुरुवातमा मात्र २.२ प्रतिशत थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार भाइरसको नयाँ भेरियन्ट, कमजोर प्रतिरोधात्मक क्षमता र चिसो मौसमका कारण मानिस घरभित्रै सीमित हुँदा संक्रमण फैलिन थालेको हो। वृद्ध व्यक्तिहरूमा संक्रमण दर उच्च देखिन थालेको भन्दै विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
अस्पतालमा भर्ना हुने कोभिड संक्रमितको संख्या पनि ७ प्रतिशतले बढेको छ। यद्यपि, चिकित्सकहरू भन्छन्, अहिले पर्याप्त खोप उपलब्ध भएकाले पहिलेको जस्तो त्रासको अवस्था छैन। ‘सचेत र सतर्क रहनु अहिलेको सबैभन्दा प्रभावकारी उपाय हो’, एक डाक्टरको भनाइ छ।
यसबीच, वयस्क र जोखिम समूहका लागि वसन्तकालीन बुस्टर डोज सुरु गर्ने तयारी भइरहेको जनाइएको छ।