धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा खोप तथा सरसफाई प्रवर्द्धन कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ। बिहिवार देखि सुरु भएको २ दिने वार्षिक समिक्षा कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरू, जनप्रतिनिधि, पालिकाको कर्मचारी लगायत सरोकार वालाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी, स्वास्थ्य प्रमुख यम कुमार श्रेष्ठ, जिल्ला जनस्वास्थ्य प्रमुख लगायतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागी भएका थिए।
समीक्षा बैठकमा स्वास्थ्य प्रवर्द्धन तथा सरसफाइका क्षेत्रमा देखिएका उपलब्धिहरू, चुनौतीहरू र आगामी योजनाका विषयमा छलफल गरिएको थियो। सहभागी वक्ताहरूले समुदायस्तरमा खोप तथा सरसफाईको पहुँचलाई थप प्रभावकारी बनाउन आवश्यक रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथिहरूले स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरू, स्थानीय सरकार र समुदायबीच समन्वय आवश्यक रहेको बताएका थिए। साथै, त्रिपुरासुन्दरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हालसम्म गरेका प्रयासहरू सराहनीय रहेको उल्लेख गर्दै अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनमा सहभागी स्वास्थ्यकर्मीहरूले अनुभव आदान-प्रदान गर्दै आगामी वर्षका लागि आवश्यक सुधारका योजना प्रस्तुत गरेका थिए।