काठमाडौं । विद्यालय शिक्षा ऐन चाँडो जारी गर्न दबाब दिने उद्देश्यले देशभरका शिक्षकहरू शनिबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शनमा उत्रिएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भएको प्रदर्शनमा सहभागी शिक्षकहरूले सरकारलाई पहिलाका सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्।
महासंघका अनुसार २०८० सालमा सरकारसँग भएका सम्झौताहरू अझै कार्यान्वयन नभएकाले शिक्षकहरू आन्दोलन गर्न बाध्य भएका हुन्। प्रदर्शनमा सहभागी एक शिक्षकले भने, “हामी पटक–पटक सम्झौतामा पुगेका छौं, तर कार्यान्वयन नहुँदा सडकमा आउनुपरेको छ।”
यसैक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले पनि प्रदर्शनस्थलमा उपस्थित भएर ऐक्यबद्धता जनाएका छन्। उनले सरकार र राजनीतिक दलहरू श्रमजीवी वर्गप्रति उदासीन रहेको आरोप लगाउँदै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरे।
नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ। यदि सरकारको ध्यानाकर्षण नभए थप कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ।