काठमाडौं, चैत ९ – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा उनका समर्थकहरूले स्वागत गर्ने तयारी गरेका छन्। यसलाई मध्यनजर गर्दै काठमाडौंका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ।
नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीलाई आवश्यक रणनीति अपनाउन निर्देशन दिइएको छ।
पूर्वराजाको स्वागतका लागि विभिन्न स्थानबाट समर्थकहरू जुट्ने तयारीमा छन्। भीड व्यवस्थापन र सम्भावित अप्रिय घटना रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रशासनले भीड नियन्त्रण तथा शान्ति सुरक्षाका लागि आवश्यक निर्णय गरेको छ। प्रमुख स्थानहरूमा गुप्तचर टोलीसमेत खटाइएको जनाइएको छ।