नेपाल–चीन सीमा नाका सहज बनाउन दुवै पक्षबीच छलफल

काठमाडौं । नेपाल–चीन सीमा नाकाबाट हुने सामान ओसारपसार तथा मानिसको आवतजावतमा देखिएका समस्या समाधान गर्न नेपाल र चीनका सम्बन्धित अधिकारीबीच छलफल सुरु भएको छ।

सीमा क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिने क्रममा नेपाली अधिकारीहरूले नाकामा देखिएका अवरोधका कारण व्यापार तथा ढुवानीमा परेको असर चिनियाँ पक्षसमक्ष राखेका छन्।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनियाँ दूतावासका प्रतिनिधिसँग भएको छलफलमा सीमा नाकामा देखिएका समस्या समाधानका लागि तत्काल समन्वय आवश्यक रहेको बताएका छन्। उनले नाकाको अवस्थाबारे चिनियाँ राजदूतसहित सम्बन्धित निकायलाई जानकारी गराई सहज सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन्।

यसअघि सीमा क्षेत्रमा रोकिएका तथा व्यवस्थापन गर्नुपर्ने ५७ वटा ढुवानीका साधनका विषयमा समेत छलफल भएको थियो। नेपाली पक्षले स्थानीय भन्सार कार्यालय र चिनियाँ अधिकारीबीच प्रभावकारी समन्वय गरी नाकाको सञ्चालनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ।

दुवै पक्षले सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या आपसी समझदारी र समन्वयमार्फत समाधान गर्ने विषयमा सहमति जनाएका छन्। सीमा नाका सहज बनेमा दुई देशबीचको व्यापारिक गतिविधि र आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।