हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो

मनाङ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जना आरोहीको शव फेला परेको छ। यससँगै हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको पर्वतारोहणसम्बन्धी उद्धार टोलीले थप चार जनाको शव फेला पारेको हो। फेला परेका शवको पहिचान भने हुन बाँकी रहेको जनाइएको छ। शव निकाल्ने कार्य जारी छ।

यसअघि बुधबार तीन जना तथा आइतबार र सोमबार गरी थप चार जनाको शव फेला परेको थियो।

असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। घटनापछि १६ जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका थिए भने ११ जना भने घटनाको दोस्रो दिन सम्पर्कमा आएका थिए।

अहिले पनि पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।

#HorizonKhabar @highlight