सामाजिक कार्यमा सक्रिय अधिकारी: बाटो निर्माण र घर पुनर्निर्माणमा आर्थिक सहयोग

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकामा सामाजिक एकता र सहकार्यको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै समाजसेवी उत्तम कुमार अधिकारी ले पुनः एकपटक उल्लेखनीय सहयोग प्रदान गर्नुभएको छ।
वडा नं. १ मार्पाक निवासी अधिकारीले वडा नं. ४ कल्लेरी टोलस्थित जाल्पादेवी मन्दिर जाने गोरेटो बाटो निर्माण का लागि व्यक्तिगत रूपमा रु. ५०,००५ आर्थिक सहयोग गर्नुभएको हो। उक्त सहयोगले स्थानीय बासिन्दालाई आवतजावतमा सहजता ल्याउने मात्र नभई धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप टेवा पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, उहाँले वडा नं. ४ थर्पुभञ्ज्याङ निवासी राममाया श्रेष्ठ को घर पुनर्निर्माणका लागि रु. २५,००५ सहयोग प्रदान गर्नुभएको छ। आर्थिक रूपमा कमजोर अवस्थामा रहेको श्रेष्ठ परिवारको घर सडक विस्तारका क्रममा प्रभावित भएपछि पुनर्निर्माण आवश्यक परेको थियो। यस्तो संवेदनशील अवस्थामा गरिएको सहयोगले परिवारलाई ठूलो राहत मिलेको स्थानीयहरूले बताएका छन्।
समाजसेवी अधिकारी विगतदेखि नै शिक्षा, सामाजिक सहयोग र मानवसेवाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले आफ्ना मातापिताको नाममा अक्षयकोष स्थापना गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ, जसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीहरूले प्रत्यक्ष लाभ लिइरहेका छन्।
उहाँका यस्ता परोपकारी कार्यहरूले समाजमा सहयोग, सद्भाव र जिम्मेवारीको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। अधिकारीजस्ता व्यक्तित्वको सक्रियताले स्थानीयदेखि समग्र समाजसम्म सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।