स्वार्थी समूहको दबाबमा सेयर बजार बन्द: असोज ५ गते बाट मात्रै संचालनमा आउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आन्दोलन शिथिल भइसकेको अवस्थामा पनि लगातार आठ कारोबार दिन सेयर बजार बन्द गराएको निर्णय विवादित बनेको छ। बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि ‘थर्मल गन ग्याङ’ भनिने स्वार्थ समूहसँग मिलेमतो गरी लगानीकर्ताको सम्पत्ति बन्धक बनाएको आरोप लागेको छ।

भदौ २३ गतेको आन्दोलनलाई कारण देखाएर २७ गतेदेखि असोज २ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको थियो। यस क्रममा शुक्रबार र शनिबार पर्न जाँदा सेयर कारोबार असोज ५ गते मात्र सञ्चालन हुने अवस्था आएको हो। इतिहासमा महामारी वा भूकम्पजस्ता असाधारण परिस्थितिमा मात्र बजार रोकिएको भए पनि यसपटक कुनै प्राविधिक समस्या नभई स्वार्थी समूहको इसारामा यस्तो कदम चालिएको भन्दै लगानीकर्ता आक्रोशित भएका छन्।

बोर्डका कर्मचारीहरू पनि अध्यक्ष श्रेष्ठको निर्णयविरुद्ध असन्तुष्ट छन्। उनीमाथि आईपीओ स्वीकृतिमा कमिसन माग्ने, दोश्रो स्टक एक्सचेन्ज ल्याउने योजना बनाउने, र स्वार्थ समूहसँग प्रत्यक्ष सम्बन्ध राख्ने जस्ता आरोप लाग्दै आएका छन्। यसले धितोपत्र बोर्डको विश्वसनीयता मात्र नभई पूँजी बजारकै पारदर्शितामा प्रश्न उठाएको विश्लेषकहरू बताउँछन्।

बजार लामो समय बन्द हुँदा लाखौँ लगानीकर्ताले सेयर खरिद–बिक्री गर्न नपाएका कारण आफ्नो सम्पत्ति रोकिएको महसुस गरेका छन्। उनीहरूले बजार खोल्न तत्काल कदम चाल्नुपर्ने माग गर्दै दबाब पनि बढाएका छन्।