कला/साहित्य । १. परिचय, मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । कविता वा काव्यका सम्बन्धमा पूर्वीय काव्यशास्त्रहरूमा प्रशस्त चर्चा गरिएको पाइन्छ । मुक्तकलाई सबैभन्दा पहिले परिभाषित गर्ने काम ‘अग्निपुराण’ले गरेको छ । ‘अग्निपुराण’ले हृदयलाई चमत्कृत पार्ने रचनालाई मुक्तक भनेको छ भने अभिनव गुप्तले अन्य श्लोकसँग असम्बद्ध भएर पनि स्वतन्त्र रूपमा पाठकलाई रसास्वादन गराउने रचनालाई मुक्तक भनी चिनाएका छन् । यसरी नै आचार्य दण्डीले ‘मुक्तकं श्लोक एवैकश्चमत्कारः क्षमः सताम्’ (एउटै श्लोकमा पाठकका हृदयमा चमत्कार उत्पन्न गर्न सक्ने क्षमता भएको रचना नै मुक्तक हो) भनी स्पष्ट उल्लेख गरेका छन् । पूर्वीय काव्यशास्त्रहरूमा कविताको बाह्य स्वरूपका आधारमा विभिन्न नामकरण गरेको पाइन्छ । पूर्वीय जगत्मा एक श्लोकको रचनालाई ‘मुक्तक’, दुई श्लोकको रचनालाई ‘सान्दानिक वा युग्मक’, तीन श्लोकको रचनालाई ‘विशेषक वा निक्षेपक’, चार श्लोकको रचनालाई ‘कलापक’ र पाँच श्लोकको रचनालाई ‘कुलक’ भन्ने गरिन्छ । नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्यविधाका रूपमा परिचित छ । यो छोक (छोटो कविता) भन्दा केही ठुलो भए पनि सूत्रात्मक नै हुन्छ । वासुदेव त्रिपाठीले मुक्तकलाई सङ्क्षिप्त, मितव्ययी, चुड्किलो र सूत्रात्मक भावकथन हो, यसमा भावको विस्तार र फैलँदोपन अपेक्षित रहन्न भनी परिभाषित गरेका छन् भने रामप्रसाद ज्ञवालीले मुक्तक जो झड्का अनुभूतिको चुड्का अभिव्यक्तिका रूपमा कवितात्मक शिल्पमा प्रस्तुत गरिन्छ, यो टुक्रा संवेदनाको उन्मुक्त अभिव्यञ्जना हो भनी चिनाएका छन् । यसका आधारमा हेर्दा मुक्तक बाह्य रूपमा एक श्लोकको रचना हो भने आन्तरिक रूपमा शक्तिशाली भाव र विद्युतीय झड्का दिन सक्ने क्षमता भएको रचना हो ।
२. मुक्तकको सैद्धान्तिक परिचय
स्वतन्त्र अर्थ प्रदान गर्ने ‘मुच्’ धातुमा ‘त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘क’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो । यसको स्पष्ट उल्लेख पूर्वीय काव्यशास्त्रहरूमा नै भइसकेको हुनाले यसलाई अन्य सन्दर्भहरूसँग जोडेर सैद्धान्तिक व्याख्या र विश्लेषण गरिरहनु आवश्यक छैन । विभिन्न सन्दर्भमा सामान्यतः मुक्तकहरू चार हरफदेखि आठ हरफसम्मका हुन्छन् भनी परिभाषित गरिए पनि मूलतः मुक्तकको संरचना चुतुष्पदी नै हो । प्रायः पहिलो र दोस्रो हरफका अन्त्यको शब्द अनुप्रासमय हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र चौथो हरफ फेरि अगाडिजस्तै अनुप्रासबद्ध हुनु ‘मुक्तक’ को संरचना मानिन्छ । तर, गहिरो भावको सूत्रात्मक अभिव्यक्ति छ भने अनुप्रासलाई ख्याल नगरे पनि त्यसलाई ‘मुक्तक’ मान्ने चलन पनि छ । यति हुँदाहुँदै पनि नेपाली काव्य परम्परामा चाहिँ चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको मुख्य चिनारी बन्दै आएको छ ।
चुतुष्पदी संरचना भएका कारण मुक्तकलाई उर्दू वा फारसी साहित्यमा प्रचलित रुवाईसँग जोडेर पनि हेर्ने गरिन्छ । रुवाई फारसी साहित्यको मात्र नभएर विश्वसाहित्यकै चर्चित र अति लोकप्रिय विधा मानिन्छ । यसका जन्मदाता फारसी कवि उमर खैय्याम (सन् १०४४–११२३) हुन् । यिनका रुवाईहरू अङ्ग्रेजीलगायत विभिन्न भाषामा अनुवाद भएर विश्वप्रसिद्ध बनेका छन् । रुवाई चतुष्पदी छन्द वा बहरमा लेखिन्छ । यसका लागि बहरे हजज मुसम्मन मकबुज (मफाइलुन् १२१२ × ४) को प्रयोग अनिवार्य मानिन्छ तर मुक्तक त्यसरी निश्चित लयमा नबाँधिएर स्वतन्त्र र मौलिक लयमा पनि लेख्न सकिन्छ । यी दुवैको बनोट, बुनोट र आनुप्रासिक व्यवस्थापन आदिलाई हेर्दा उस्तै लागे पनि रुवाईका सबै पङ्क्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छ भने मुक्तकमा त्यस्तो अनिवार्य नियम पाइँदैन । यति हुँदाहुँदै पनि ‘ए, ए, बी, ए’ को संरचना चाहिँ यी दुवै विधामा हुने गर्दछ । मुक्तकको न्यूनतम संरचना चतुष्पदी हो र त्यसमा ‘ए, ए, बी, ए’ को व्यवस्थापन अनिवार्य मानिन्छ । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—
ए = अनुप्रासयुक्त पहिलो हरफ (यसले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गर्छ ।)
ए = अनुप्रासयुक्त दोस्रो हरफ (यसले भावलाई गति दिई उत्सुकता बढाउँछ ।)
बी = स्वतन्त्र तेस्रो हरफ (यसले वैचारिक निष्कर्षका लागि परिवेश बनाउँछ ।)
ए = अनुप्रासयुक्त चौथो हरफ (यसमा लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरिन्छ ।)
यो ‘मुक्तक’को न्यूनतम संरचना हो । यसको पहिलो र दोस्रो हरफमा अनुप्रास अनिवार्य हुनुपर्छ, तेस्रो हरफ स्वतन्त्र हुन्छ तर चौथो हरफमा पुनः अनुप्रास अनिवार्य मानिन्छ । यसरी आएका अनुप्रासहरूमा ध्वन्यात्मक एकरूपता हुनै पर्छ तर शब्दको अक्षरशः पुनरावृत्ति हुनु हुँदैन । यस आधारमा हेर्दा मुक्तकको रचनाविधानका लागि निम्नलिखित कुराहरू अनिवार्य मानिन्छन्—
— मुक्तकमा चार हरफको संरचना अनिवार्य हुनुपर्छ र तिनमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रासको प्रयोग अनिवार्य छ, तेस्रो हरफचाहिँ स्वतन्त्र हुन्छ ।
— मुक्तकका चार हरफहरूमा भावगत विकास उत्तरोत्तर गतिमा हुनुपर्छ र अन्तिम हरफमा लेखकीय अभिमत चोटिलो रूपमा आएको हुनुपर्छ ।
— मुक्तकको प्रस्तुति अभिधाको तहमा नभएर व्यञ्जनाको तहमा हुनुपर्छ ।
— मुक्तकमा विम्ब, प्रतीक, अलङ्कार, ध्वनि र वक्रोक्तिको प्रयोग अन्य रचनाका तुलनामा बढी नै हुनुपर्छ ।
— मुक्तकको रचना जुनसुकै विषयमा पनि हुन सक्छ र ‘ए, ए, बी, ए’ को संरचना यसका लागि अनिवार्य मानिन्छ तर खँदिलो विचार, आनुप्रासिक संरचना, चोटिलो प्रहार र अद्भुत विद्युतीय झड्का नभएसम्म मुक्तक जीवन्त हुन सक्दैन ।
उल्लिखित कुराहरू मुक्तकका संरचनात्मक चिनारीअन्तर्गत पर्दछन् । यिनको पूर्ण पालना भएमा मुक्तक सुन्दर बन्दछ भने आंशिक पालना भएमा शाब्दिक परम्पराको निर्वाह मात्र हुने गर्दछ । ‘ए, ए, बी, ए’ को संरचना र भावगत उन्नयन कसरी हुन्छ भन्ने कुरालाई बुझ्न निम्नलिखित मुक्तकलाई आधार बनाएर हेर्दा अझै स्पष्ट हुन सकिन्छ—
ए = प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
ए = प्रत्येक पन्छीलाई वनको मजूर भन्न मन लाग्छ
बी = चाकरी गर्दा गर्दा यस्तो भइसकियो कि
ए = बाटामा भेटिएको गधालाई पनि हजुर भन्न मन लाग्छ ।
—भूपी शेरचन
यहाँ आएको ‘गजुर’ शब्दकेन्द्रित पहिलो हरफले भावको थालनी गरी उत्सुकताको प्रारम्भ गरेको छ भने ‘मजूर’ शब्द (‘गजुर’को अनुप्रास) केन्द्रित दोस्रो हरफले भावलाई गति दिई उत्सुकता बढाउने काम गरेको छ । यहाँको स्वतन्त्र तेस्रो हरफले वैचारिक निष्कर्षका लागि परिवेश निर्माण गरेको छ भने ‘हजुर’ शब्द (‘गजुर’ र ‘मजूर’को अनुप्रास) केन्द्रित चौथो हरफले लेखकीय अभिमत वा विचारको तर्कपूर्ण स्थापना गरेको छ । यसले मुक्तकमा विषयवस्तुको व्यवस्थापन र भावको गति उत्तरोत्तर विकासको चरणमा हुनुपर्छ भन्ने स्पष्ट देखाएको छ । पहिलो हरफको उठान सामान्य रूपमा भए पनि पहिलोभन्दा दोस्रो हरफ, दोस्रोभन्दा तेस्रो हरफ र तेस्रो हरफभन्दा चौथो हरफ शक्तिशाली हुनुपर्छ । अर्थात् मुक्तकको चौथो हरफमा आउने विद्युतीय झड्काले पाठकको मनमा अद्भुत तरङ्ग सिर्जना गर्न सक्नुपर्छ । भूपी शेरचनको प्रस्तुत ‘मुक्तक’ले पञ्चायतकालीन नेपालको चाकरी प्रथा र नेपालीको दास मनोवृत्तिको राम्ररी चित्रण गरेको छ । यसमा अन्तर्निहित व्यङ्ग्यचेत र व्यञ्जनात्मक अर्थविन्यास नै यसको सबैभन्दा ठुलो शक्ति हो । थोरैमा धेरै भन्ने शक्ति हुनाले एउटा मुक्तकमा एउटा महाकाव्यको भन्दा शक्तिशाली भाव अटाउन पनि सक्छ ।
नेपाली कविता परम्परामा मुक्तक बद्ध र मुक्त दुवै लयमा लेखिएका पाइन्छन् । बद्ध लयअन्तर्गत वार्णिक, मात्रिक तथा लोकलयमा मुक्तकहरूको सिर्जना गर्न पनि सकिन्छ । हालसम्मका अधिकांश मुक्तकहरू लोकलय (सवाई) मा लेखिएका छन् । आक्षरिक एकरूपताका आधारमा र आनुप्रासिक अन्तर्लयका आधारमा मुक्त लयमा पनि मुक्तकहरू लेखिने गरेका छन् । मुक्तक कविताको लघुतम रूप भएको हुनाले यसले लयात्मक एकरूपताको अपेक्षा भने अवश्य गरेको हुन्छ । यसका साथै आन्तरिक अनुप्रास नभएका, कतै कतै चतुष्पद पनि नभएका तर शक्तिशाली भाव भएका छोटा सिर्जनालाई पनि मुक्तक नै भनी उल्लेख गरिएको पाइन्छ । जस्तैः
उत्तरतिर एउटा देश छ
जहाँ खान पाइन्छ, बोल्न पाइँदैन
दक्षिणतिर एउटा देश छ
जहाँ बोल्न पाइन्छ, खान पाइँदैन
बिचमा एउटा त्यस्तो देश छ
जहाँ खान पनि पाइँदैन र बोल्न पनि पाइँदैन ।
—भूपी शेरचन
यो पञ्चायत कालीन नेपाली परिवेशलाई सङ्केत गरी लेखिएको रचना हो । यसका जम्मा छ हरफमा चीन, भारत र नेपालको राजनीतिक व्यवस्थाको सुन्दर चित्रण गरिएको छ । उत्तरतिरको खान पाइने तर बोल्न नपाइने कुराले चीनको कम्युनिस्ट शासन व्यवस्थाको चित्र खिचेको छ, दक्षिणतिरको बोल्न पाइने तर खान नपाइने कुराले भारतको प्रजातान्त्रिक शासनव्यवस्था र त्यसभित्र लुकेको गरिबीको स्वरूप प्रस्तुत गरेको छ भने बिचको खान पनि नपाइने र बोल्न पनि नपाइने कुराले तत्कालीन नेपालको पञ्चायती शासन व्यवस्था र गरिबीको परिचय दिएको छ । यत्ति विषयमा केन्द्रित भएर लेख्न थाल्ने हो भने कविता, काव्य, आख्यान, निबन्ध जस्ता साहित्यिक सिर्जना मात्र होइन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, इतिहास आदिका हजारौँ कृतिहरू निर्माण हुन सक्छन् । यहाँ शक्तिशाली भावविधान छ तर चतुपष्दी संरचना र अनुप्रासको अपेक्षित व्यवस्थापन छैन । त्यसैले यसलाई मुक्तक नभनेर छोक भन्नु उपयुक्त हुन्छ ।
यसरी नै अभिव्यक्ति कला प्रभावकारी भयो भने र विषयवस्तुको विद्युतीय सम्प्रेषण भयो भने जम्मा दुई हरफमा पनि धेरै कुरा भन्न सकिन्छ । जस्तैः
विधाताले जन्मचाहिँ नेपालमै गरिरहोस्
प्रत्येक जन्ममा तर डिभी चिट्ठा परिरहोस् ।
—ललित बस्नेत भिमाली
यसमा लयात्मक एकरूपता पनि छ, दुई हरफमा अनुप्रासको समुचित व्यवस्थापन पनि छ र व्यञ्जनात्मक भावविन्यास पनि छ । देशभक्तिका विषयमा पाइने विचार र व्यवहारबिचको विरोधाभासलाई यी दुई हरफले राम्ररी उतारेका छन् । यो कविताको लघुतम रूप चाहिँ हो तर यसमा चतुष्पदी संरचनामा बाँधिएको अनुप्रासको गतिशीलता नहुनाले गर्दा यस्ता रचनालाई मुक्तक मान्नु हुँदैन भन्ने मान्यताको स्थापना पनि नेपाली साहित्यमा भइसकेको छ । यसरी दुई हरफमा शक्तिशाली भावको व्यवस्थापन गरिएका लघुतम रचनाहरूलाई ‘युग्मक’ भन्ने गरेको पाइन्छ । भारतको सिलिगुढीमा बसेर साहित्य सिर्जनाकर्ममा समर्पित कालुसिंह रनपहेलीले यस्ता रचनाहरूलाई ‘युग्मक’ नामकरण गरेका छन् । उनले यस प्रकृतिका सयौँ रचनाहरूको कृतिसमेत प्रकाशन गरिसकेका छन् । त्यसैले प्रस्तुत रचना ‘युग्मक’अन्तर्गत पर्न सक्छ ।
३. नेपाली साहित्यमा मुक्तक लेखन
नेपाली मुक्तकको जन्म नेपाली कवितासँगै भएको हो । नेपाली कविताको प्राथमिक काल (१८२६—१९४०) मा नै नेपाली मुक्तकको पनि जन्म भएको देखिन्छ । नेपालीका प्रथम कवि मानिएका सुवानन्द दासकै समकक्षी शक्तिवल्लभ अर्ज्याल नेपालका प्रथम मुक्तककार हुन् र उनको ‘तनहुँ भकुन्डो’ (१८३९) रचना नै नेपालीको पहिलो मुक्तक हो जसको स्वरूप यस प्रकारको रहेको छ—
धायको छ लमजुंग मुकुन्डो
कास्कि बाँध सुनको छ षुकुन्डो
पीउठानीकन देउ सुकुन्डो
मारिलेउ तनहूँ त भकुन्डो ।
स्वागता छन्दमा लेखिएको यस रचनामा वर्तमान नेपाली मुक्तकमा जस्तो ‘ए, ए, बी, ए’ को संरचना त देखिँदैन तापनि तत्कालीन परिवेशको सूत्रात्मक चित्रण भने पाइन्छ । यसमा चारओटै पाउमा अनुप्रासको प्रयोग गरिएको छ । यसले एकातिर नेपाली कविताको वीरधाराको विषयगत प्रतिनिधित्व गरेको छ भने अर्कातिर मुक्तकको स्वरूपगत प्रतिनिधित्व पनि गरेको छ ।
शक्तिवल्लभ अर्ज्यालपछि पनि प्राथमिक कालीन कविहरू गुमानी पन्त, रघुनाथ पोखर्याल, भानुभक्त आचार्य, अगम दिलदास आदि र माध्यमिक कालीन कविहरू मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, वैयाकरण नेपाल, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँर आदिले पनि सशक्त रूपमा मुक्तकहरूको रचना गरेका छन् तर प्राथमिक र माध्यमिक कालीन कविहरूले ‘मुक्तक’ भनेरै मुक्तकको रचना गरेको पाइँदैन, संरचनात्मक रूपमा मात्र ती रचनाहरूलाई मुक्तक भन्न सकिन्छ ।
नेपाली साहित्यमा मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भीमदर्शन रोका (१९८६–२०५९) हुन् । वि.सं. २०१० को ‘प्रगति’ (वर्ष–१, अङ्क–३) मा प्रकाशित रोकाका ‘केही मुक्तक’ नै नेपाली मुक्तकपरम्परालाई आधुनिकतामा रूपान्तरण गर्ने कोसेढुङ्गा साबित भएका छन् । यसपछि टेकबहादुर नवीनको ‘केही चोइटा’ (२०१६) नेपाली मुक्तकहरूको पहिलो पुस्तकाकार कृति हो । आधुनिक नेपाली मुक्तकको सुरुआती चरणमा रोकाको मुक्तक लेखनका नमुनाहरू यस प्रकारका पाइन्छन्—
को आउँछ मेरो गीत खोस्न ?
एक्लो सफरमा मेरो मित खोस्न ?
सीमा नै टपिसकेको छु मैले
को आउँछ मेरो जित खोस्न ?
source: sahitya post