आगामी आर्थिक वर्षको करिब साढे १७ खर्ब रुपैयाँको
बजेट आज प्रस्तुत हुदै

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।
उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ ।

स्रोत र खर्च क्षमता बिर्सेर सरकारले छुट सुविधा, तलब तथा भत्ता वृद्धि र मतदाता रिझाउने कार्यक्रमसहित ठूलो आकारको बजेट ल्याउने तयारी छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आज संसद्मा पेस गरिने आगामी आर्थिक वर्षको बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ ।

नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाएको छ ।
बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ४५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरू उक्त दिन दिनको ३ : ४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक २०७९ साल जेष्ठ १५ गते आइतबार अपराह्न ६ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’
यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेस प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here