जार, बोटल र ट्याङ्करको मुल्य वृद्धि गर्दै, नेपाल बोटल वाटर उद्योग संघ

काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले विश्व अर्थतन्त्र मात्रै चौपट भएको छैन । हाम्रो दैनिकीसँग जोडिएका उद्योग, व्यवसाय र उपभोग्य वस्तु तथा सेवामा प्रत्यक्ष असर परेको छ ।
इन्धनको मूल्यवृद्धिले नेपालजस्ता विकासोन्मुख अर्थात् एक अंकको आर्थिक वृद्धिदर हासिल गर्न पनि मुस्किल परिरहेका मुलुकको हालत झन् खराब भएको छ । हाम्रो दैनिकी चौपट भइरहेको ख्यालै गर्न सकिरहेका छैनौँ, हामी ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबैतिर महँगी बढाएको छ । सुन्दा हाँसो उठ्छ होला, जलस्रोतको दोस्रो धनी देशमा पानी पनि महँगियो ।
तर, इन्धनको मूल्यवृद्धिले मान्छेलाई नभई नहुने पानीको मूल्य समेत बढउनु पर्ने देखिएको छ । पानी प्रशोधन तथा बोटलिङ गर्ने उद्योग अहिले घाटा सहेर व्यवसाय गरिरहेका छन् ।
इन्धनको मूल्यवृद्धि तथा महँगीको मारले आफुहरु अब चल्नसक्ने अवस्थामा नरहेको नेपाल बोटल वाटर उद्योग संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङले बताए ।
उनले भने, ‘इन्धनको मूल्य धेरै पल्ट समायोजन हुँदा पिउने पानी हामीले एउटै मूल्यमा विक्रिवितरण गरिरहेका छौँ । अब पानीको मूल्य समायोजन नगरी चल्न नसकिने अवस्था आयो ।
इन्धनको मूल्यवृद्धि र महँगीको मार यस्तै रहिरहने हो भने मूल्य समायोन नभई हामीले जार, बोटल र ट्याङकरको पानी विक्रिवितरण गर्न सक्दैनौँ । प्रशोधन, बोटलिङ तथा सप्लाई सबै बन्द गर्नुपर्ने हुन्छ ।’
इन्धनकै कारण ढुवानी बढ्यो, उनी अगाडि भन्छन्, ‘हाम्रो ढुवानी र मजदुर खर्च बढ्यो तर, पानीको मूल्य समायोजन भएन । इन्धनको मूल्य आकाशिएका कारण हामीले पानी सप्लाई गर्न सक्ने अवस्थै रहेन ।
अहिलेसम्म हामी घाटा सहेरै पानी वितरण गरिरहेका छौँ । तत्काल मूल्य समायोजन नहुने हो भने हामीले सेवा बन्द गर्नुको विकल्प छैन । एकातिर इन्धन महँगियो भने अर्कोतिर मजदुरको खर्च बढाउनु परेको छ ।
भन्नलाई मान्छेहरुले पानी जाबोको मूल्य पनि यतिधेरै ? भनेर भन्लान् । तर, ढुवानी र मजदुरको तलभत्ता वृद्धिले थपिएको आर्थिक भार कहाँबाट कसरी पूर्ति गर्ने ?’
अहिले नेपाली बजारमा पेट्रोल प्रतिलिटर १५० र डिजेल १३३ रुपैयाँ पुगेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङ भन्छन्, ‘काठमाडौं लगायत जनघनत्व बढी भएका शहरमा पानी आपूर्तिको अवस्था सबैलाई थाहा नै छ ।
पानी व्यवसायीहरुले प्रशोधन, बोटलिङ र सप्लाई बन्द गर्ने अवस्था आयो भने खानेपानीको राम्रो प्रबन्ध हुन नसकेको काठमाडौंको अवस्था के होला ? एक पल्ट कल्पना गरौँ न ।’
अहिले काठमाडौंका नागरिकले गुणस्तरीय मूलको पानी खोजिरहेका छन् । रसुवाको पानी प्रतिजार काठमाडौंमा १२ सय रुपैयाँ परिरहेको छ, उनले अगाडि भने,
‘जलस्रोतको दोस्रो धनी देशका नागरिकले २० लिटर पानीको १२ सय रुपैयाँ तिर्छन् भन्दा हाँसो उठ्नु स्वभाविकै होला । तर, २ सय किलोमिटर टाढाबाट ल्याइने रसुवाको पानी त्यसै महँगो भएको होइन । त्यसमा धेरैथरी कुराहरु जोडिन्छन् ।
हामीकहाँ अंक गणितलाई विशेषण दिएर नकारात्मक प्रचार गर्ने प्रचलन छ । रसुवाको पानी किन १२ सय रुपैयाँ प्रतिजार भयो भन्ने कुरामा कसैले चासो राख्दैनन् ।
यतिसम्म कि नियामक निकायले एकपल्ट अनुगमन निरीक्षण, गुणस्तर जाँचा, लागतको अवस्था हेरिदिँदैनन् । खाली बजार मूल्य अर्थात् अंकमा मात्रै चासो राखिरहेका छौँ ।’ पानी उपभोक्ताले आफुले उपभोग गरिरहेको पानीको गुणस्तरबारे कहिल्यै जानकारी राख्दैनन् ।
उनले ससमस्या राख्दै भने, ‘जसरी पनि आपूर्तिको अवस्था ठीक ठाक रहे भइहाल्यो भन्ने परम्परा छ, हामीकहाँ । जस्तो घरमा जार, बोटल वा ट्याङकर आइपुगे भइहाल्यो ।
एक पल्ट यो कहाँबाट आउँछ, कसरी प्रशोधन गरिएको छ । शुद्ध छ, छैन । स्वच्छताका दृष्टिले कति योग्य छ, कसैले सोधिरहेका छैनन् ? उपभोक्तावादीहरु सिर्प विक्रिवितरण गर्ने ठाउँमा गएर मिथ्याङक संकलन गरिदिन्छन् ।
अनुगमन गर्ने निकाय पूरातनवादी नै छन् । भनाई र गराईको तालमेल मिलेकै छैन, कसैको पनि । उद्योग मारमा छन् । विक्रेताले दुई पैसा नाफा खाएर बेचेको अपजस पनि हामीले नै बोक्नुपर्ने ? यो अवस्थाबाट हामी मुक्त हुनुपर्छ ।
त्यसैले हामीले भनिरहेका छौँ, मूल्यमा भन्दा गुणस्तरमा जाऔँ, विश्वसनीयतामा जाऔँ, जनस्वास्थ्यलाई दृष्टिगत गरौँ । मिथ्याङ्क बेच्न छोडौँ । उचित मूल्य तिरेको पानी ढुक्कले पिउने वातावरण विस्तार गर्दै जाऔँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here