१६ युरोपेली मुलुकसँग श्रम सम्झौताको तयारीमा सरकार

काठमाडौँ । सरकारले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत त्यसका लागि पहल अघि बढाएको हो ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रममन्त्री रामजी यादवले श्रम सम्झौता विस्तारका लागि सरकार सक्रिय भएको जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले प्रत्यक्ष पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ हुने भएकाले अब परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइनेछ । हाल नेपालले १३ देशसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि नेपाली श्रमिक १७८ देशमा कार्यरत रहेको उनले बताए ।
मन्त्री यादवले वैदेशिक रोजगारका क्रममा हुने आर्थिक ठगी र श्रम शोषण नियन्त्रणका लागि सरकार प्रयासरत रहेको उल्लेख गरे । उनले विदेश जानेमध्ये ४८ प्रतिशत नागरिकले व्यक्तिगत श्रम स्वीकृति लिने गरेको जानकारी पनि दिए ।

महिला घरेलु श्रमिकहरू गैरकानुनी बाटोबाट विदेश जाने गरेकाले समस्या पर्दा राज्यलाई सहयोग गर्न कठिन हुने अवस्था रहेको उनको भनाइ थियो । साथै युद्धका कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव ल्याउन केही ढिलाइ भएको स्वीकार गर्दै अब त्यस्तो ढिलाइ नहुने दाबी उनले गरे ।

स्थानीय तहमै रोजगारी सिर्जना गर्ने योजनामा मन्त्रालय अघि बढिरहेको मन्त्री यादवले बताए । बैठकमा सांसदहरूले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगीबाट जोगाउन सरकार थप गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।