पहिरोले फेरि रोकियो मुग्लिन–नारायणगढ सडक

काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ। माथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहित पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
यसअघि बिहीबार बिहानदेखि मात्रै उक्त क्षेत्रमा दुईतर्फी सवारी सञ्चालन सुरु गरिएको थियो। पहिरोका कारण काठमाडौं भित्रने तथा पोखरा, चितवनलगायत विभिन्न जिल्लातर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
सडक खुलाउन डोजर तथा अन्य उपकरण परिचालन गरिएको छ भने प्राविधिक टोली र सुरक्षाकर्मीले पहिरो पन्छाउने काम गरिरहेका छन्। पहिरो पूर्ण रूपमा हटाएपछि मात्रै सवारी सञ्चालन गर्न सकिने जनाइएको छ।
वर्षा सुरु भएसँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो खस्न थालेको छ। प्रहरीले यात्रु र चालकलाई सतर्क भएर यात्रा गर्न आग्रह गरेको छ।