काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । कोशी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । मौसमविद्ले चट्याङ्ग, वर्षा र सम्भावित पहिरोबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।






