सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४३ करोड नाघ्यो

आर्थिक खबर । साताको तेस्रो कारोबार दिन बुधबार नेपाली सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले वृद्धि हुँदै २ हजार ६६५.५३ विन्दुमा पुगेको हो।

नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। बुधबार कुल ३५८ वटा कम्पनी तथा धितोपत्रका २ करोड २१ लाख २३ हजार ४१४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसअघि मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेको थियो भने ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो।

बुधबार कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ११.४८ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको ८.६५ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी घोराही सिमेन्ट इन्डस्ट्रिजको ५१ करोड, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड, एनआईसी एसिया बैंकको ३२ करोड र घलेम्दी हाइड्रोपावरको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार चार समूहका उपसूचक सकारात्मक देखिएका छन्। जीवन बीमा, म्युचुअल फन्ड, अन्य र व्यापार समूहमा वृद्धि हुँदा बाँकी समूहका उपसूचक भने घटेका छन्।