काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूले आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ २३ गते ‘जेनजी शहीद स्मृति दिवस’ मनाउने घोषणा गरेका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्मृति दिवस मनाउने जानकारी दिएको हो।
समितिका अनुसार स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजना गरिनेछ। कार्यक्रममा शहीद परिवार तथा घाइतेहरूको सहभागिता रहनेछ।
पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा खर्च सरकारले व्यहोर्नुपर्ने माग गरे। शहीद परिवार र घाइतेहरू आर्थिक रूपमा कमजोर रहेकाले कार्यक्रमको जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो।
उनका अनुसार समितिले असोज १५ गतेदेखि सोही संसद् भवन परिसरमा सातदिने महायज्ञ सञ्चालन गर्ने तयारीसमेत गरेको छ।
चौलागाईंले आन्दोलनका क्रममा जलाइएको बानेश्वरस्थित संसद् भवनमै शहीद स्मृति दिवस र महायज्ञ आयोजना गर्ने जानकारी दिए।
स्मृति दिवस आयोजनाका विषयमा गृहमन्त्री सुदन गुरुङसँग छलफल भइरहेको पनि उनले बताए। सरकारले यसअघि नै प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरिसकेको छ।
प्रकाशित मिति : भदौ ७, २०८३






