सिङ्ल्हा माने मेलामा पर्यटनमन्त्रीसहित उच्चस्तरीय टोली सहभागी हुँदै

धादिङ । धादिङ, नुवाकोट र रसुवा जिल्लाको संगमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय तीर्थस्थल सिङ्ल्हा माने धाममा आगामी भदौ १२ गते जनैपूर्णिमाको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित उच्चस्तरीय टोली आउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, माननीय बोध नारायण श्रेष्ठ, माननीय बसुमाया तामाङ लगायतको टोलीले सिङ्ल्हा माने धामको दर्शन गर्नुका साथै सिङ्ल्हा माने झाँक्री मेलामा सहभागिता जनाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको सिङ्ल्हा माने धाम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ । स्थानीय धार्मिक विश्वासअनुसार यो क्षेत्र गुरु पद्मसम्भवसँग सम्बन्धित पवित्र स्थलका रूपमा समेत परिचित छ । जनैपूर्णिमाको अवसरमा यहाँ परम्परागत रूपमा झाँक्रीहरूको उपस्थिति रहने तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुने गर्दछ ।

पर्यटनमन्त्रीसहित उच्चस्तरीय टोलीको आगमनले सिङ्ल्हा माने धामको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास स्थानीय तथा आयोजकले गरेका छन् ।

सिङ्ल्हा माने झाँक्री मेला आयोजक समितिका संयोजक राकेश तामाङ (च्याङबा)ले धामको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका लागि सरकारको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसरका रूपमा भ्रमणलाई लिइएको बताए ।

उनका अनुसार सिङ्ल्हा माने धामलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, संरक्षण, प्रचार–प्रसार र सरकारी प्राथमिकता आवश्यक रहेको छ ।