काभ्रेमा १० हजार व्यक्ति उच्च रक्तचापको औषधि सेवन गर्दै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको पाइएको छ। नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका १३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत उनीहरूको पहिचान, उपचार र नियमित निगरानी भइरहेको हो।

२०७९ भदौ १७ गतेदेखि सुरु भएको अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीलाई सेवा दिइँदै आएको छ। कार्यक्रमका लागि हालसम्म ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ।

स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका अनुसार काभ्रेमा सञ्चालन गरिएको यो नमूना कार्यक्रम नेपालमै पहिलो हो। काभ्रेको अनुभवका आधारमा कार्यक्रम पर्सा, बारा, कैलाली र इलाममा समेत विस्तार गरिएको छ।

स्वास्थ्य सेवा विभागले दक्ष स्वास्थ्यकर्मीमार्फत प्रोटोकलअनुसार उपचार, बिरामीको नियमित फलोअप तथा ट्र्याकिङ, औषधिको निरन्तर आपूर्ति र बिरामीले नियमित औषधि सेवन गर्ने वातावरणलाई प्राथमिकता दिनुपर्ने जनाएको छ।

यसैबीच काभ्रेलाई नसर्ने रोग तथा प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राख्दै सेवा विस्तार गर्ने र तीन तहका सरकारबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले काभ्रेमा प्राप्त अनुभव अन्य जिल्लाका लागि समेत उपयोगी हुने बताएका छन्। उनीहरूले उच्च रक्तचापका बिरामीको नियमित निगरानी, औषधिको निरन्तरता र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।