धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा चेपाङ, दलित, गरिब तथा बञ्चितीकरणमा परेका समुदायको आयआर्जन तथा जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले मौरीसहितको आधुनिक घार वितरण गरिएको छ।
बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा विनियोजित कार्यक्रम अन्तर्गत रैथाने बाली प्रवर्द्धन, जलवायु मैत्री प्रविधि प्रवर्द्धन तथा निर्यातजन्य बाली प्रवर्द्धन कार्यक्रममार्फत गाउँपालिका वडा नं. १ का २४ जना लाभग्राहीलाई मौरीसहितको आधुनिक घार तथा आवश्यक सामग्री वितरण गरिएको हो।
वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि सम्भावनायुक्त व्यवसाय भएको उल्लेख गर्दै महको बजार माग उच्च रहेकाले कृषकले यसबाट अतिरिक्त आम्दानी गर्न सक्ने बताउनुभयो। उहाँले मौरीपालन व्यवसायले ग्रामीण समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग गरी आयआर्जन वृद्धि गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो।
त्यसैगरी वडा नं. १ का वडाध्यक्ष भिमप्रसाद भट्टले मौरीपालनले मह उत्पादनसँगै कृषिबालीको परागसेचनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले यसले कृषि उत्पादन वृद्धि, कृषकको आम्दानी बढाउन तथा समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो।
गाउँपालिकाले यस्ता कार्यक्रममार्फत विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरण, रोजगारी सिर्जना तथा दिगो जीविकोपार्जनमा योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।






