इरानविरुद्ध सैन्य कारबाही रोक्न अमेरिकी सिनेटको प्रस्ताव पारित

अन्तर्राष्ट्रिय खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक रूपमा ठूलो झट्का लागेको छ। रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले इरानविरुद्धको सैन्य कारबाही रोक्नेसम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।
५०–४८ मतले पारित भएको उक्त प्रस्तावले राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कुनै पनि सैन्य कदम चाल्नुअघि वा जारी राख्नुअघि अमेरिकी कंग्रेसको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। मतदानका क्रममा चार जना रिपब्लिकन सिनेटरले आफ्नै पार्टीको धारणा विपरीत डेमोक्र्याट पक्षमा मतदान गरेका थिए।
विश्लेषकहरूका अनुसार आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन पार्टीभित्र देखिएको मतभेद यस मतदानमार्फत थप उजागर भएको छ। यद्यपि डेमोक्र्याटिक पार्टीका सिनेटर जोन फेटरम्यान भने प्रस्तावको विपक्षमा मतदान गर्ने एकमात्र डेमोक्र्याट सदस्य बने।
यसअघि प्रतिनिधि सभाले पनि यही प्रस्ताव बहुमतले पारित गरिसकेको थियो। अमेरिकी इतिहासमा सन् १९७३ को ‘युद्ध शक्ति प्रस्ताव’ लागू भएपछि राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने प्रस्ताव कंग्रेसका दुवै सदनबाट पारित भएको यो पहिलो घटना मानिएको छ।
यद्यपि प्रस्ताव कानुनी रूपमा बाध्यकारी नरहे पनि यसले ह्वाइट हाउसमाथि राजनीतिक दबाब बढाउने अपेक्षा गरिएको छ। इरानसँगको तनाव र युद्धका कारण विश्व बजारमा इन्धनको मूल्य बढेकाले अमेरिकी जनतामाझ पनि युद्धविरुद्ध असन्तुष्टि बढ्दै गएको बताइएको छ।
ह्वाइट हाउसका अधिकारीहरूका अनुसार गत अप्रिल ७ देखि युद्धविराम कायम रहेकाले हाल कुनै सक्रिय सैन्य कारबाही सञ्चालनमा नरहेको दाबी गरिएको छ।