साइबर ठगी बढ्दै : अपरिचित लिंक नखोल्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनाधिकृत नम्बरबाट आउने एसएमएस, ह्वाट्सएप लगायत विभिन्न एपमार्फत पठाइने शंकास्पद लिंकप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको अत्यावश्यक सूचनामा पछिल्ला दिनमा मोबाइल सेवा प्रदायकको नेटवर्क तथा विभिन्न अनलाइन प्लेटफर्मको प्रयोग गरी फिसिङ लिंकसहितका सन्देश पठाउने घटना बढ्दै गएको जनाएको छ।

प्राधिकरणका अनुसार यस्ता सन्देशहरू आधिकारिक वा विश्वासिलो स्रोतबाट आएको जस्तो देखिने भएकाले धेरै प्रयोगकर्ता झुक्किने गरेका छन्। त्यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी हुने, मोबाइल वा सामाजिक सञ्जाल खातामा अनधिकृत पहुँच पुग्ने तथा आर्थिक ठगीको जोखिम बढ्ने सम्भावना रहन्छ।

हाल बैंकिङ सेवा, डिजिटल वालेट, सरकारी सेवा तथा विभिन्न पुरस्कार वा उपहारको प्रलोभन देखाएर नक्कली लिंक पठाउने प्रवृत्ति बढ्दो अवस्थामा रहेको प्राधिकरणले उल्लेख गरेको छ। यस्ता माध्यमबाट प्रयोगकर्ताको बैंक खाता, सामाजिक सञ्जाल तथा अन्य गोप्य विवरणमा पहुँच पुर्‍याएर आर्थिक तथा व्यक्तिगत क्षति पुर्‍याउने प्रयास हुने गरेको बताइएको छ।

प्राधिकरणले अपरिचित नम्बरबाट प्राप्त सन्देश तथा त्यसमा समावेश लिंकको सत्यता पुष्टि नगरी क्लिक नगर्न, कुनै पनि व्यक्तिगत वा वित्तीय जानकारी साझा नगर्न र शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।