धादिङ । डेङ्गु रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिका–४, धादिङमा डेङ्गु रोगसम्बन्धी सचेतना अभिमुखीकरण तथा लामखुट्टे निवारण कार्यक्रम सम्पन्न गरिएको छ।
वडा अध्यक्ष हरिकुमार श्रेष्ठको नेतृत्वमा आयोजित कार्यक्रमले स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी, समाजसेवी तथा सरोकारवालाको सक्रिय सहभागिता पाएको थियो। कार्यक्रममा डेङ्गु रोगको लक्षण, संक्रमणको तरिका, बच्ने उपाय, र सरसफाइको महत्त्वका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
वक्ताहरूले विशेषगरी घर वरिपरि पानी जम्न नदिनु, प्रयोगमा नरहेका टायर, भाँडाकुँडा हटाउनु, पानी जम्मा हुने भाँडाहरू छोपेर राख्नु, र नियमित फोहरमैला व्यवस्थापन गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले भने,
“डेङ्गु रोग नियन्त्रण गर्नु केवल स्वास्थ्यकर्मीको काम होइन, यो हामी सबैको साझा जिम्मेवारी हो। घर, टोल, र समाज सफा राख्न सक्यौं भने डेङ्गुजस्ता रोगहरू सजिलै नियन्त्रण गर्न सकिन्छ।”
कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना वृद्धि गराएको विश्वास लिइएको छ। सहभागीहरूले यस्ता कार्यक्रमले व्यवहारिक रूपमै परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।






